पोखरा विमान दुर्घटना अपडेट : ५ जनाको सनाखत (नामावलीसहित)

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १६:३५

पोखरा । पोखरामा आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य सवार थिए । हालसम्म अपराह्न ४ बजेसम्म ६२ जनाको शव फेला परेको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले हाल खोज तथा उद्धार कार्य जारी राखेको छ ।

उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।