पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १५:३७
file-photo

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले सदस्यीय दुर्घटना आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।

आयोगको सदस्यहरुमा क्रमशः हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

यस्तै, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

त्यस्तै, उक्त बैठकले घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

बिहान काठमाडौंबाट पोखराको लागी ६८ यात्रु बोकेर उडेको विमान पोखरा विमानस्थल नजिक दुर्घटना ग्रस्त भएको छ । जसमा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।