प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक एकसाथ बस्दै
काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक सोमबार अपराह्न १ बजे एकैसाथ बस्ने भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको जानकारी दिए ।
आज संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्न लागेको लागेको हो । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार, संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई छ ।
संघीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा ज्येष्ठ सदस्य सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्त तथा मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने, सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरुले आफ्नो आफ्नो मन्तव्य राख्ने, प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पदमा नियुक्त र मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
