दुर्घटनामा परेर दुई जनाको मृत्यु
जनकपुरधाम । सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साइनबाट राजबिराज तर्फ जाँदै गरेको बा ८९ प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा बा ८९ प ३२१५ नम्वरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्वरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् । दुवै युवकको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
