हेटौंडामा औद्योगिक व्यापार मेला हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ गतेदेखि २३ गतेसम्म व्यापार मेला संचालन हुने भएको हो ।
हेटौंडा–१० टीसीएनको चौरमा मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । मेलामा बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योग र स्थानीय तथा राष्ट्रिय उत्पादन एवम् सेवाको व्याफार, क्रmेता र विक्रेता अन्तरक्रिया, स्थानीय तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यत्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, खाना तथा सांस्कृतिक मेला, पर्यटन प्रबर्द्धनका साथै वाल उद्दान रहने छ ।
उद्योग वाणिज्य संघले यसअघि २०७५ सालमा सोही स्थानमा ९ औं राष्ट्रिय मेलाको आयोजना गरेको थियो । त्यसतिबेला अत्यधिक विवादमा परेको हेलिकप्टर टुरलाई यो पटक पनि प्रमुख आकर्षणको रुपमा समेटिएको आयोजनाले जनाएको छ ।
मेलामा विद्यार्थीको कार्यक्षमता विकासको कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ । जिल्लाको प्रतिभा प्रस्फुटनका लागि गायन प्रतिस्पर्धा हेटौंडा आइडल र नृत्य प्रतिस्पर्धा डान्सिङ स्टारको समेत आयोजना हुनेछ ।
महोत्सवमा करिब तीनसय वटा स्टल रहनेछ । यसका लागि स्थानीय तहसंग आवश्यक अनुमति लिइसकेको पनि जानकारी गराएको छ ।
