काभ्रेमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार ०८:३१

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।बेथानचोक गाउँपालिका–५ च्याल्टीस्थित ब्रतबन्धमा पुगेर फर्किंदै गरेको बा ३ ख ४३८५ नम्वरको रिजर्भ बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेहरुमा क्रमशः बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् ।

त्यस्तै, बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका –१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नगरपालिका –११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ ।

यस्तै, बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नगरपालिका–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको हो । मृतकमध्ये पाँच जनाको भने सनाखत हुन सकेको छैन ।

बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको छ ।