मुक्तक मञ्च मकवानपुरले विभिन्न विधामा ३ जनालाई पुरस्कृत गर्ने
मकवाानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जनालाई पुरस्कृत गर्ने भएको छ । बिहीबार बसेको मुक्तक मञ्च मकवानपुरको सल्लाहकारसहितको कार्यसमितिको तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आगामी वार्षिक साधारण सभामा २ जना मुक्तककार र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट १ जना गरी ३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिए ।
अध्यक्ष बर्तौलाले पिताको सम्झनामा स्थापना गरेको ‘बहादुरानन्द स्मृति मुक्तक पुरस्कार’ सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरेलाई दिने भएको छ । जसको राशी ७ हजार ७ सय ७ रुपैयाँ रहेको छ ।
यस्तै, मुक्तक मञ्च मकवानपुरले ‘तारा स्मृति मुक्तक पुरस्कार’ मकवानपुरका अग्रज मुक्तककार देवराज खरेललाई प्रदान गर्ने भएको छ । साहित्यकार किसन पौडेलले स्थापना गरेको सो पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
यसैगरी, मुक्तककार तथा गजलकार श्रीराम अधिकारीले स्थापना गरेको ‘इन्दिरादेवी अधिकारी मुक्तक पुरस्कार’ मकवानपुरभित्रका माध्यमिक विद्यालयस्तरीय ९ देखि १२ कक्षाका विद्यार्थीबिच प्रतिस्पर्धा गराई उत्कृष्ट १ जना विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।सो प्रतियोगिता पौष १६ गते मुक्तक मञ्च मकवानपुरले आयोजना गर्ने जनाइएको छ ।
