अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
२०७९ मंसिर ११, आईतवार १५:२२
वीरगञ्ज । बारामा अटोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको निजगढ नगरपालिका–१ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२–०३–००१ ह ४३३ नम्वरको अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते सानुमायाको वीरगञ्जको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको हो ।
अटो चालक निजगढ–८ बस्ने २५ वर्षीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
