मतदान केन्द्र जाँदै गरेको जीप दुर्घटना हुँदा ३ जना घाइते
जुम्ला । जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्वरको जीप दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घाइते हुनेमा सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने, कार्यालय सहयोगी अंगराज गिरी र अर्का एक जना प्रहरी कर्मचारी रहेका छन् । घाइतेमध्ये कार्यालय सहयोगी अंगराज गिरीको अवस्थामा गम्भीर रहेको जुम्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका–७ जनजागृति मावि ताम्तीमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपानेसहितको ८ जनाको टोली खटिएको प्रहरीले जानकारी दिइएको छ ।
