दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २९, मंगलवार ०७:५७
File Photo

काठमाडौं । भक्तपुरमा मोटरसाइकल र ट्यांकर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका–१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्वरको पानी ट्यांकरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय राजन दुवारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकल पछाडि सवार मध्यपुर ठिमी नगरपालिका–३ बस्ने २३ वर्षीय अनिल साह घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सवारीसाधनहरू प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।