कक्षा १२ को पूरक परीक्षाको नतिजा निर्वाचन अघि नै सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ कार्तिक २३, बुधबार १७:३४
file-photo

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा आसन्न निर्वाचन अघि नै सार्वजनिक गर्ने भएको छ ।
गत असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा आगामी मंसिर ४ मा हुने निर्वाचनअघि नै सार्वजनिक गर्नेगरी तयारी गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

१ लाख ३० हजार विद्यार्थीले पूरक परीक्षा दिएका थिए । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो ।

बोर्डले पहिलो पटक ग्रेडिङ पद्धति २०७८ अनुसार, नतिजा प्रकाशन गरेको थियो । जसमा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । दुई विषयमा नन ग्रेडिङमा परेको १ लाख ३० हजार विद्यार्थीले पूरक परीक्षा दिएका हुन ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेखिन्छ । दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।