मकवानपुर दुर्घटना अपडेट : मृतकको सनाखत

तु खबर संवाददाता
२०७९ कार्तिक २१, सोमबार १०:००

मकवानपुर । हेटौंडा–नारयणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीमा आज बिहानै भएको सवारी दुर्घटना परेर मृत्यु भएका पुरुषको सनाखत भएको छ ।

बिहान ४ बजेको समयमा झापाको काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ७९४३ नम्वरको रात्री बसले विपरित दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ४९३१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका एक जनाको सनाखत भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्ती बस्ने २९ वर्षीय अबिनाश गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बसको ठक्करबाट गोलेको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक गोलेको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उक्त बसमा सवार यात्रुहरुलाई अर्को सवारीसाधनमा गन्तव्यतर्फ पठाएको र बस चालक हेटौंडा–१९ नेवारपानी बस्ने अन्दाजी ५१ वर्षीय मदन कुमार गोलेलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।