मकवानपुरमा सवारी दुर्घटना हुँदा १० जना घाइते
मकवानपुर । मकवानपुरमा शुक्रबार विभिन्न दुई स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर १० घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवपुर र वडा नम्वर ९ स्थ्ति भएको दुर्घटनामा परेर १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार अपाराह्न ३ बजेको समयमा हेटौंडा–११ नवलपुरस्थित पूर्व–पश्चिम सडकखण्डमा काकडभित्ताबाट भैरहवातर्फ जाँदै गरेको मे १ ख ३१४८ नम्वरको बसलाई विपरित दिशातर्फ आउँदै गरेको ना ७ ख ५९५८ नम्वरको बसले ठक्कर दिँदा ८ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा परेर ना ७ ख ५९५८ नम्वरको बसको सह–चालक (१ जना) र मे १ ख ३१४८ नम्वरको बसमा सवार ७ जना गरी ८ जना सामान्य घाइते भएका प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, शुक्रबार साँझ हेटौंडा–९ मावन सेवा आश्रम अगाडि भित्री सडकखण्डमा लामसुरेबाट मयुरधाप तर्फ जादै गरेको ना २० प ३७०१ नम्वरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट पैदलयात्री बाटो काट्ने क्रममा बकैया गाउँपालिका वडा नम्वर ८ शिखरपुर बस्ने ४५ को लक्ष्मण घलान घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको छ ।
यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक हेटौंडा–१४ कालापनी बस्ने २६ को शंकर थोकर पनि घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । दुर्घटनमा परे घाइते भएका दुबै जनालाई उपचारको लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
