दुर्घटनामा परेर दुई जनाको मृत्यु, दुई जना घाइते
झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मे ३ प ५५८० नम्वरको मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्वरको मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल रहेका छन् ।
यस्तै, उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र ९ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
