कमल थापालाई टिकट दिएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी
मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर– १ मा एमाले नेता रामेश्वर रानाको टिकट खोसेर एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवारको रुपमा अघि सारेसँगै असन्तुष्ट कार्यकर्ताहरुले मकवानपुरस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
एमालेले सो क्षेत्रमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, पार्टी अध्यक्ष केपी ओलीले शनिबार उक्त निर्णय परिवर्तन गरेर राप्रपा नेपालका अध्यक्ष थापालाई सूर्य चिन्हबाट चुनाव लड्ने गरी टिकट दिएका थिए ।
हेटौंडा–५ पुष्पलाल पार्क नजिक पार्टी कार्यालयमा ताला लगाउँदै कार्यकर्ताहरुले पार्टी केन्द्रको थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व मौन रहेको भन्दै विरोध गरेका हुन् । मकवानपुर– १ मा तीन पटक थापालाई हराएका एमाले नेता कृष्ण दाहालले कमल थापालाई टिकट दिइनु गलत भएको बताए ।
