दुर्घटना परेर दुई सशस्त्र प्रहरीको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार ०८:४७

दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दु्ई जनाको मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेहरुमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । मृतक दुबै जना सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत थिए ।

मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका थिए । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।