बारा बस दुर्घटना: मृतक र घाइतेका परिवारलाई राहत दिन पूर्वमन्त्री ढकालको आग्रह

तु खबर संवाददाता
२०७९ आश्विन २१, शुक्रबार १०:२४

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बाराको जीतपुर–सिमरा स्थित सडकखण्डमा विहिबार विहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति भएको घटनाले आफुलाई स्तब्ध बनाएको जनाएका छन् ।

अध्यक्ष ढकालले दुर्घटनामा परी ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे ।

उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन् । सो दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका थिए भने २ दर्जन बढी घाइते भएका छन् ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडबाट २० मिटर तल बगरमा खसेको थियो ।