बस दुर्घटनामा परी ज्यान गुमाएका १६ मध्ये १२ जनाको सनाखत
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्वर– २२ अमलेखगञ्जस्थित तीन नम्वर पुल नजिकैको खण्डमा विहान भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो । ४ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता बलराम श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर– २ बस्ने वर्ष ४० को लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कंडेलका १४ वर्षीय छोरा सफल कँडेल रहेका छन् ।
त्यस्तै पर्साको वीरजंग महानगरपालिका वडा नम्वर १६ वस्ने वर्ष ६५ को सोमबहादुर चौरसिया, सोही स्थान बस्ने वर्ष ३५ की मन्निदेवी चौरसिया, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौंडा ७ कै २० वर्षकी स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १० बस्ने वर्ष ३५ की नाजलिन खातुन, कलैया १० बस्ने इजाजत अन्सारी, बाराकै जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ बस्ने वर्ष २८ को सुरेश विक रहेका छन् ।
सोही दुर्घटनामा परी खोलढुंगा बस्ने सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर ५ बस्ने ५० वर्षका सन्तोष कुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक स्याङजा आदिखोला गाउँपालिका वडा नम्वर ६ बस्ने वर्ष ४० का कोदिप्ति नारायण ढकालको भने हेटौंडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले बताए ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस तीन नम्वर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार थिए ।
