ट्रयाक्टरबाट खसेर मकवानपुरका युवकको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १६:५८

मकवानपुर । मकवानपुरमा शुक्रबार बिहान ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ५ तीनतल्लेमा ना ७ त ५०७२ नम्वरको खाली ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २३ वर्षीय सुमन लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार, बिहान हेटौंडाबाट जुरेलीतर्फ जाँदै गरेको उक्त ट्रयाक्टरबाट खस्दा सोही ट्रयाक्टरको पछाडीको चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

उनको शव हाल पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।