दुर्घटनामा परेर मकवानपुरका लामाको मृत्यु, न्यौपाने घाइते
जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भएका चालक अविनाश लामा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
बुधबार जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको बागमती प्रदेश, ०३००१ ख २१६४ नम्वरको ट्रक हिमा गाउँपालिका–१ आचार्य लिहीमा दुर्घटना हुँदा लामाको मृत्यु भएको हो ।
त्यस्तै, सोही दुर्घटनामा परेर मकवानपुर नै घर भएका गाडीका सह–चालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरुले बताएका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
