अख्तियारद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/०७९ को ३२ औं वार्षिक प्रतिवेशन प्रदेश प्रमुख समक्ष पेश गरेका हुन् ।
प्रतिवेदन पेश गर्ने कार्यक्रममा मन्तव्य राख्दै प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आयोगका हेटौंडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सार संक्षेप प्रस्तुती दिएका थिए ।
उनले प्रतिवेदनमा आयोगको कार्यालय, हेटौंडा मातहतमा क्षेत्राधिकार भित्र पर्ने जिल्लाहरुका कूल १ हजार ६ सय उजुरीहरु रहेको जानकारी गराएका थिए । जसमा क्रमशः बाराका ३९१, रौतहटका ३७४, मकवानपुरका ३१०, पर्साका २८६, र चितवनका १६६ वटा उजुरी रहेका छन् ।
उनले एक वर्षको अवधिमा उजुरी परेकामध्ये १७ हजार १६९ वटा उजुरी अर्थात ७०.६ प्रतिशत प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको र फर्छ्यौट भएकामध्ये ८२३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको बताए ।
यस्तै, ३०२ उजुरी तामेली, ४७४ वटा उजुरीउपर सुझाव दिई तामेली गरिएको र १० हजार ५७० वटा उजुरीउपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरेको उनले बताए । साथै, प्रारम्भिक छानबिनको क्रममा रहेका ७ हजार १६२ वटा उजुरी आर्थिक वर्ष २०७९/०८० मा जिम्मेवारी सरेर आएको छ ।
