निर्वाचन आयोग : चुनाव घोषणापछिका रकमान्तरको विवरण माग
काठमाडौं । निर्वाचन आयोगले अर्थमन्त्रालयसँग चुनाव घोषणापछिका रकमान्तरको विवरण माग गरेको छ । अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै आयोगले विवरण बुझायन माग गरेको हो ।
आयोगले चुनावको मिति घोषणा भएपछि अर्थात् साउन १९ गतेयता रकमान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको छ ।
स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक् तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।
