हेटौंडा अस्पताललाई डेंगु परीक्षणका लागि किट सहयोग

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार १५:४१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले डेंगु परीक्षणका लागि हेटौंडा अस्पताललाई किट सहयोग गरेको छ । सोमबार उपमेयर राजेश बानियाँले अस्पतालमा पुगी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटालाई १ हजार थान किट हस्तान्तरण गरेका हुन् ।

किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले डेंगु रोग न्यूनिकरणका लागि परीक्षणलाई तीव्रता दिई उपचार सेवा प्रवाह गर्न अस्पतालका मेसु सापकोटालाई आग्रह गरे । उनले परीक्षणका लागि किट उपमहानगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

यस्तै, मेसु सापकोटाले सबै पक्षको सहयोग पाए अस्पतालबाट प्रवाह हुँदै आएको उपचार सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजान सकिने बताए । उनले अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीहरु परीक्षणका लागि आउने गरेको र परीक्षण गराएकामध्ये १५ देखि २० प्रतिशत बिरामीमा संक्रमण पुष्टि हुने गरेको बताए ।

हेटौंडा उपमहानगरपालिकाले यसअघि पनि हेटौंडा अस्पताललाई एक हजार थान किट उपलब्ध गराएको थियो ।