दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौं–१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा काठमाडौं–२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका–१४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जन रहेका छन् ।
प्रहरीका अनुसार, सडक छेउमा रोकेको बा प्र ०३–००१ ख २०४० नं.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र.न.३–०२–००३ प ८८८८ नं. को मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका थिए । उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका–१२का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
