दसैँतिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

तु खबर संवाददाता
२०७९ भाद्र २०, सोमबार १७:३०
file-photo

काठमाडौं । यस पटकको दसैँतिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

तर, चाँडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए । उनका अनुसार, सम्बन्धित यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी लगायतका सरोकारवाला निकाय तथा व्यक्तित्वहरूसँग अहिले विभागको छलफल चलिरहेको छ ।

त्यसबारे केही दिन भित्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको जनाइएको छ । यता यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने भदौं १५ गते नै आफूहरूले यातायात व्यवस्था विभागका डीजी (महानिर्देशक), ट्राफिक प्रहरी प्रमुख लगायतका सरोकारवाला निकायहरूसँग बसेर अग्रिम टिकट बुकिङदेखि आवश्यक सुरक्षाको प्रबन्धसँगै सडक बाटोघाटोको मर्मतको सुझावसमेत दिइसकेको बताउँछ ।

यस वर्षको दसैँतिहारको यातायात सेवालाई व्यवस्थित गर्नको लागि अग्रिम टिकट बुकिङ भने असोज पहिलो सातादेखी खुल्ला गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।