मकवानपुरका स्थानीय तहहरूबाट २०६ वटा उजुरी दर्ता

तु खबर संवाददाता
२०७९ भाद्र १६, बिहीबार ०९:०८

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता भएको छ । जिल्लाका स्थानीय तहहरूका गत आवमा २०६ वटा उजुरी दर्ता भएको कार्यालयका सूचना अधिकारी विष्णु प्रभा सापकोटाले जानकारी दिए ।

उनका अनुसार, अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको १०४ वटा र गत आर्थिक वर्षमा दर्ता भएका २०६ वटा गरी ३१० वटा उजुरीहरू प्राप्त गरिएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको मध्येबाट ७५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १५२ वटा गरी २२७ वटा उजुरी फछ्र्यौट गरिएको छ । अन्य ८३ वटा उजुरीहरु भने फछ्र्यौट हुन बाँकी रहेको सुचना अधिकारी सापकोटाले बताए ।

मकवानपुरमा सबैभन्दा हेटौंडा उपमहानगरपालिकाबाट सबैभन्दा बढी उजुरी दर्ता भएको छ । गत आवमा उपमहानगरपालिकाबाट १२४ उजुरी दर्ता भएको तथ्याङ्क रहेको छ । यसैगरी, थाहा नगरपालिकाको ८ वटा, इन्द्र सरकोवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकाको १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिकाको अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको ४५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १२४ वटा गरी १६९ उजुरी दर्ता भएको छ । उक्त उजुरीहरु मध्ये आयोगले गत आर्थिक वर्षमा ११८ वटा उजुरीहरुको छानविन गरी फछ्र्यौट गरेको छ । जसमा अघिल्लो आर्थिक वर्षको ३२ वटा र गत आर्थिक वर्षको ६ वटा रहेका छन् । अघिल्लो आर्थिक वर्षको १३ र गत आर्थिक वर्षको ३ वटा गरी ५१ वटा उजुरीहरु चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

यसैगरी थाहा नगरपालिकाको ८ वटा उजुरी दर्ता भएका छ । दर्ता भएको उजुरीमध्ये ७ वटा उजुरी फछ्र्यौट भइसकेको छ । यस्तै, इन्द्र सरोवर गाउँपालिकाको ४ वटा उजुरी दर्ता भई ४ वटै उजुरी फछ्र्यौट भइसकेको छ भने कैलाश गाउँपालिकामा १२ वटा उजुरी दर्ता भएमा ९ वटा फछ्र्यौट भएको तथ्याङमा उल्लेख छ ।

यसैगरी, बकैया गाउँपालिकामा २१ वटा उजुरी दर्ता भएको र १६ वटा फछ्र्यौट, बागमती गाउँपालिमा ६ वटा उजुरी दर्ता भएकोमा ५ वटा फछ्र्यौट, भीमफेदी गाउँपालिकाको दर्ता भएको १२ वटा उजुरीमध्ये ८ वटा फछ्र्यौट, मकवानपुरगढी गाउँपालिकामा २० वटा उजुरी दर्ता भएकोमा १४ वटा उजुरी फछ्र्यौट, मनहरी गाउँपालिकाको दर्ता भएको ४२ वटा उजुरी मध्ये ३६ वटा फछ्र्यौट र राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दर्ता भएकोमा १० वटा फछ्र्यौट भएको छ ।

उजुरीमा रसिद दुरुपयोग भएका प्रवृतिको उजुरी सबैभन्दा बढी परेको बताएका छन् । आयोगमा सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरू परेका सूचना अधिकारी सापकोटाको भनाइ छ । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरू दर्ता भएको जनाइएको छ ।