जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र पुस्ताकालय स्थापना
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ । जिल्ला प्रहरी मकवानपुरले आफ्नो हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो ।
उक्त पुस्तकालयको आइतबार बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख किरण बज्रचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
अब कार्यालयमा रहेका कैदीबन्दीले पनि पुस्तक पढ्न पाउने भएका छन् । थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुर्याउने उद्देश्यले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पुस्तकालय उद्घाटनपश्चात हिरासतमा रहेका थुनुहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
