दुर्घटनामा परेर प्रहरी हवल्दारको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गएराति बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुादा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । कटुवालको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।
