हरितालिका तीजको अवसरमा छालासम्बन्धी स्वास्थ्य चर्चा

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार ११:११

मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर छालासम्बन्धी स्वास्थ्य चर्चा तथा सचेतनामुलक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

छालाको सुरक्षा कसरी गर्ने, छाला स्वस्थ राख्नका लागि के–कस्ता उपायहरू अपनाउने, कस्मेटिक उत्पादनले छालामा पार्ने प्रभाव, त्यसको रोकथाम, छालामा देखापर्ने विविध समस्याको पहिचान, समाधानको उपायलगायतका विषयमाथि मकवानपुर सहकारी अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर बुद्धिराज पाण्डे, सौन्दर्यकर्मी अस्मिता श्रेष्ठ तथा करुणा अधिकारीले प्रकाश पारेको कार्यक्रमको सहजीकरण सविता तिमल्सिनाले गरेकी थिइन् ।

सचेतनामुलक तीज विशेष कार्यक्रममा सुनिता बुर्लाकोटी र स्वस्तिका दाहालले तीज गीत प्रस्तुत गरेका थिए । संस्थाकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मुना अर्याल, सल्लाहकार पुर्णकला घिमिरेलगायतको आतिथ्यता रहेको थियो भने संस्थाकी उपाध्यक्ष निरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।

अध्यक्ष सापकोटाले तीजलाई सांस्कृतिक पर्वको रुपमा मनाउनुपर्ने र अहिले तीजको नाममा देखिएका विकृतिहरू हटार्इ सिर्जनात्मक रुपमा तीज मनाउन सकिने बताइन् । आँचलले यसैगरी चेतनामूलक तीज विशेष कार्यक्रम हरेक वर्ष मनाउँदै आइरहेको उनले स्मरण गरिन् ।