महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक भोलि मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जनाएको छ ।
उक्त बैठकमा यसअघि भदौं १ गतेको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची छ ।
मंगलबारको बैठकमा समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । ‘पहिलो बैठकमा सभापतिको कुरा उठेको थियो । यसबीचमा सभापतिकै लागि खास तयारी त भएको छैन । तर, पनि उठ्न सक्छ’ विष्टले भनेका छन् ।
प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले साउन २२ मा पाएको थियो । जिम्मेवारी पाएको ९ दिनपछि पहिलो बैठक बसेको थियो ।
