हेटौंडाको लेवटमा भएको दुर्घटनामा परेर मृत्यु भएका पुरुषको अझै सनाखत हुन सकेन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित लेवटमा दुर्घटनामा परेर मृत्यु भएका पुरुषको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत शुक्रबार अर्थात भदौ ३ गते राति हेटौंडा–३ लेवटस्थित पुर्ब–पश्चिम लोकमार्ग सडकखण्डमा ना ७ ख ७६१ नं. को ट्रकले ठक्कर दिँदा मृत्यु भएका अन्दाजी ४५ वर्षीय पुरुषको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, ती पुरुषको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले ती पुरुषको हुलिया सार्वजनिक गर्दै कसैले चिनेको भए पैसा नलाग्ने नम्वर १००, नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोबाइल नम्वर ९८५५०९०१५० मा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको हुलिया अनुसार, ती पुरुषको उचाई ५ फिट ५ ईन्च, कालो छोटो कपाल, चुच्चे नाक, पातलो ठिक्कको शरिर रहेका छन् । यसैगरी, ती पुरुषले निलो रंगको स्टकोट, निलो रंगको पाटे हाप भेष्ट, खैरो रंगको ट्रयाक, कालो टाटेपाङग्रे हाप कट्टु लगाएको, कम्बरको भागमा कालो कपडा बाधेको, डल्फिन लेखेको कालो चप्पल लगाएका छन् । उक्त शव पनि हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।
