विसं. २०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन दर्ता

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १५:२९

काठमाडौं । विसं. २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि १७ वटा निवेदन दर्ता भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन गत साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो ।

समितिको सूचना अनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन् । यी तीन वटै पञ्चाङ्ग यो वर्ष पनि समितिसँग स्वीकृति नलिइ प्रकाशनमा रहेका छन् ।

मुक्तिनाथ र नेपाल पञ्चाङ्ग विश्व पञ्चाङ्ग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । विगतमा एक पटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चाङ्ग केही समय भने स्वीकृति नलिइ प्रकाशनमा आएको थियो । ज्वालाले यसपटक फेरी स्वीकृतिका लागि निवेदन दिएको समितिले जनाएको छ । पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने समितिको तयारी छ ।