बसको ठक्करबाट अटो चालकसहित तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार ०९:४२

रौटहट । रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बसको ठक्करबाट अटो चालकसहित तीन जनाको मृतयु भएको छ । जिल्लाको चन्द्रपुर–२ लच्का नजिकै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्वरको बसल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्वरको अटोलाई आज बिहान ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन् । दुर्घटना परेर घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै खुट्टामा चोट लागेको तथा चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।