हेटौंडा–१५ को विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट वितरण

तु खबर संवाददाता
२०७९ श्रावण ३०, सोमबार १७:२८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट र टिसर्ट वितरण गरिएको छ । द सन अफ लाइट मकवानपुरले आइतबार एक कार्यक्रमबीच उक्र विद्यालयमा अध्ययनरत २ सय ९ जना विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट वितरण गरेको हो ।

प्रतिविद्यार्थी एक हजार ८ सय रुपैयाँ मूल्यका ट्रयाकसुट र टिसर्ट वितरण गरिएको द सन अफ लाइट मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमनले जानकारी दिए । उनका अनुसार, बाँकी ५४ जना विद्यार्थीलाई केही दिनपछि ट्रयाकसुट र टिसर्ट वितरण गरिनेछ । अभिभावकहरुले सधैं बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने वातावरण सिर्जना गर्न तथा विद्यार्थीलाई नियमित विद्यालय आउनुपर्छ भन्ने बानीको विकास गर्न ट्रयाकसुट र टिसर्ट वितरण गरिएको उनले बताए ।

उक्त ट्रयाकसुट र टिसर्ट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरमान घलानको सभाध्यक्षता एवम् बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङका बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलान, नेकपा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राईलगायतको उपस्थिति थियो ।