नागरिकतामा अपमानजनक नाम राख्न नपाइने

तु खबर संवाददाता
२०७९ श्रावण २३, सोमबार १८:३३

काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी सो बारे जानकारी गराएको हो ।

उनका अनुसार, अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको हो । साथै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने उनको भनाई छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृहले अबदेखि त्यस्तो हुन नदिने बताएको हो ।