मकवानपुरमा १५ दिनमा २८ जनामा डेंगुको संक्रमण

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १८:४८
file-photo

मकवानपुर । जिल्लामा साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा २८ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । लामखुट्टेको टोकाईबाट फैलने उक्त रोगको संक्रमण जिल्लामा फैलँदै गएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार जिल्लामा डेंगु पुष्टि भएकाहरुमध्ये सबैभन्दा धेरै संक्रमितहरु हेटौंडा उपमहानगरपालिकाभित्रका रहेका छन् । हेटौंडा ४ र ५ मा संक्रमण फैलिइएकोले सबैलाई समेत हुन स्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

डेंगुबाट कसरी बच्ने ? (चिकित्सकहरुको सल्लाहमा आधारित)

–डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,

–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,

–पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,

–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक(दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,

–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,

–एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,

–लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।

–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।