प्रतिनिधि सभाबाट शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९ मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा. भीमबहादुर रावल, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको सपथमा कानुनी शून्यता हुन नदिन सपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए ।
त्यसैगरी, बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ मा विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । उक्त प्रस्ताव उद्योगमन्त्री बडूले प्रस्तुत गरेका हुन् । उक्त प्रस्ताव उपर बैठकमा सैद्धान्तिक छलफल भइरहेको छ ।
