भारतमा एक महिनामा ६६० जना बेपत्ता

तु खबर संवाददाता
२०७४ पुष १२, बुधबार २०:२८
फोटो साभार : गुगल

नयाँदिल्ली, १२ पुस (रासस/एएफपी) : धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् ।

श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन् ।

गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टी भइसकेको छ ।

प्रतिघण्टा १३० किलोमिटरको गतिमा आएको चक्रवातले रुख बोटविरुवा उखेल्नुका साथै विद्युत र टेलिफोनका संरचनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएका छन् भने दशौँ हजार घर ध्वस्त भएका छन् ।

भारतका रक्षा मन्त्री निर्मला सीता रमणले ६६१ जना माझी अहिलेसम्म बेपत्ता भएको संसदलाई जानकारी दिनुभएको छ । तर उहाँले उनीहरूको मृत्यु भइसकेको भन्न भने नमिल्ने बताउनुभएको छ ।

बेपत्ता भएकामध्ये ४०० जना तमिल नाडुबाट र अरू २६१ जना केरलाबाट बेपत्ता भएका हुन् ।

रक्षा मन्त्रीले रक्षा मन्त्रालय र अन्य विभिन्न निकायहरूले ८४५ जनाको उद्धार गरेको पनि जानकारी दिनुभयो ।

भारतको पूर्वी तटिय क्षेत्रमा हरेक वर्षको अप्रिलदेखि डिसेम्बरसम्म चक्रवातका कारण धेरै जनाको मृत्यु हुनेगरेको छ । सन् १९९९ मा आएको चक्रवातले आठ हजार जनाको ज्यान लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*