बागमती प्रदेश : दुर्घटनामा परेर ४१३ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा दुर्घटनामा परेर ४१३ जनाको मृत्यु भएको छ । प्रदेशको काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा दुर्घटनामा परेर ४१३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मृत्यु हुनेहरुमा ३२६ जना पुरुष, ३२ जना महिला, १८ जना बालक र ७ जना बालिका रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार, २ हजार ६१६ वटा सवारी साधनहरु संलग्न ति दुर्घटनामा परी १ हजार १२ जना गम्भीर घाइते भएका छन् भने २ हजार ९८३ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परेर चितवनमा सबैभन्दा धेरै र रसुवा जिल्लामा सबैभन्दा कमको मृत्यु भएको छ । गत आर्थिक वर्षमा चितवनको विभिन्न स्थानमा गत आर्थिक वर्षमा ५३२ वटा सडक दुर्घटना हुँदा १३९ जनाको मृत्यु भएको छ । जसमा १०६ जना पुरुष, २१ जना महिला, ११ जना बालक र १ बालिका रहेका छन् । ती दुर्घटनामा परी २५४ जना गम्भीर र ७१३ जना सामान्य घाइते भएका छन् ।
यस्तै, गत आवमा रसुवामा १३ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १/१ जना महिला र बालिका रहेका छन् । १५ सवारी साधनहरु संलग्न उक्त दुर्घटनामा परी १० जना गम्भीर र ६ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै, मकवानपुरमा ३१८ वटा सवारी दुर्घटनामा हुँदा ७० जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा ६३ जना पुरुष, ५ जना महिला र १/१ जना बालक तथा बालिका रहेका छन् । जिल्लामा ४६० वटा साना तथा ठुला सवारी साधनहरु संलग्न दुर्घटनामा १८१ जना सामान्य र ५७७ जना गम्भीर घाइते भएका छन् ।
त्यसैगरी, सिन्धुलीमा २९१ वटा सवारी दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३८ जना पुरुष, ४ जना महिला र १/१ जना बालक र बालिका रहेका छन् । साना ठुला गरी ४०० वटा सवारीसाधन संलग्न उक्त दुर्घटनामा परेर ३९० जना सामान्य र १५३ जना गम्भीर घाइते भएका छन् ।
यस्तै, गत आर्थिक वर्षमा रामेछापमा ३२ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ जना पुरुष र ८ जना महिला रहेका छन् । सो दुर्घटनामा १९ जना गम्भीर र ७४ जना सामान्य घाइते भएका छन् ।
यस्तै, आर्थिक वर्षमा दोलखामा भएको ४० सवारी दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै पुरुष रहेका छन् । ५१ वटा सवारी साधनहरु संलग्न उक्त दुर्घटनामा परी ३८ जना गम्भीर र ३७ जना सामान्य घाइते भएका छन् ।
यता काभ्रेमा गत आर्थिक वर्षमा ५१ वटा दुर्घटना हुँदा ४२ जनाकोे मृत्यु भएको छ । जसमा ३१ जना पुरुष, ५ जना महिला, ४ जना बालक र १ जना बालिका रहेका छन् । उक्त दुर्घटनामा परेर ७७ जना गम्भीर र २३७ जना सामान्य घाइते भएका छन् ।
यसैगरी, सिन्धुपाल्चोकमा गत आर्थिक वर्षमा ६७ वटा सवारी दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । जसमा १४ जना पुरुष, ५ जना महिला र एक जना बालक रहेका छन् । ८५ वटा सवारी साधनहरु संलग्न भएको उक्त दुर्घटनामा १४ जना गम्भीर र २४३ जना सामान्य घाइते भएका छन् ।
यस्तै, नुवाकोटमा गत आवमा १४ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । जसमा १० जना पुरुष, ३ जना महिला र एक बालिका रहेका छन् । दुर्घटनामा परेर ५३ जना गम्भीर र ८२ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै, धादिङमा गत आर्थिक वर्षमा भएको २७२ वटा सवारी दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको छ । जसमा ४३ जना पुरुष, ९ जना महिला र एक जना बालिका रहेका छन् । दुर्घटनामा परी १८६ जना गम्भीर र ४७७ जना सामान्य घाइते भएका छन् ।
