हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार १०:१९

दाङ । मध्य रातमा हिरासतमा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् । मुद्दा शाखामा कार्यरत चौलागाईंविरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन् ।

प्रहरी आचरण विपरितका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरीले जनाएको छ । शुक्रबार बिहान २ बजे बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई असई चौलागाईँले मध्यरातमा निकालेर आफ्नो कोठामा पुर्‍याएका थिए। त्यो थाहा पाएपछि प्रहरी थुनामा रहेका ब्यक्तिले होहल्ला गर्दै बिरोध जनाएका थिए ।

शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईँविरुद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन् । असईँ चौलागाईँले सोधपुछको बहानामा मध्यराति आफ्नो कोठमामा पुर्‍याई आफूलाई यौंन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रहरीले सोमबार आरोपित चौलागाईँलाई अदालतमा उपस्थित गराई फेरि म्याद थपका लागि अदालतमा लैजान थालेको छ । उनलाई यसअघि ५ जनाको म्याद थप थरी अनुसन्धान गरिरहेको थियो ।