राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार १८:५२
file-photo

काठमाडौं । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित भएको छ । उक्त विधेयक बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट बहुमतले पारित भएको हो ।

बैठकमा प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए । नागरिकता विधेयकमाथिको छलफलका क्रममा संशोधनकर्ता सत्ता गठबन्धन दलका सांसदले संशोधन प्रस्ताव फिर्ता लिए भने प्रमुख प्रतिपक्षी दलका सांसद र एक स्वतन्त्र सांसदले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।

फिर्ता लिन नचाहेको संशोधन प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्ष बहुमत सांसदले अस्वीकृत गरे । राष्ट्रियसभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिको हातमा पुग्नेछ ।