श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु
चितवन । चितवनको भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३५ वर्षीया रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, आइतबार राती करिब साढे १० बजेको समयमा घरायसी विवाद हुँदा कृष्णप्रसादले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट रुष्मा गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीका अनुसार, श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर कृष्णप्रसादको पनि मृत्यु भएको छ । घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको हो । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
