सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ३०, बिहीबार ०९:०९
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्वरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।