उपसभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता हुने
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको हो । १ः३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ।
उपसभामुखको निर्वाचन भोलि दिउँसो ३ बजे हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद २०७६ माघदेखि रिक्त छ। संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तत्कालीन नेकपा हुँदा तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ ।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन् । उपसभामुखमा कांग्रेस र समाजवादीले दाबी गरिरहेका छन् ।

