थाहा नगरको जनकल्याण माविले शैक्षिक मेलाको आयोजना गर्ने

तु खबर संवाददाता
२०७९ असार २८, मंगलवार १०:०९

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माविले ‘प्रथम जनकल्याण शैक्षिक मेला–२०७९’ आयोजना गर्ने भएको छ । जनकल्याण माविको व्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यसहित उक्त मेला आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले जानकारी दिए ।

प्रधानाध्यापक कार्कीले यही असार ३० र ३१ गते जनकल्याण मावि प्राङ्गणमा हुने शैक्षिक मेलामा सहभागी हुन थाहानगरका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायत सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

एसईई दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि विषय छनौट गर्न सहज वातावरण बनाई विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गरि नगर भित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताए ।

शैक्षिक मेलामा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विशेष छुट तथा विज्ञान प्रदर्शनी प्रतियोगिता हुने सहायक प्रधानाध्यापक रायमाझीले बताए । रायमाझीले विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिने समेत बताए ।

मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहने, विद्यार्थीको सीप परीक्षण, निशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक समेत रहेको आयोजकले जनाएको छ ।