बस मर्मत गर्ने क्रममा किचेर नेपालीको मृत्यु
चितवन । चितवनमा बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ का २१ वर्षीय सुरज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्वरको बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक नेपाली बसका सहचालक हुन् । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
