मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १७, शुक्रबार १८:३९

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ घट्टेपाखा नजिक आज दिउँसो फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौंडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्वरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे हो ।

मृत्यु हुनेमा ट्रक चालक भारत पट्ना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, उक्त ट्रक स्थानीयको घरमा ठक्कर दिएर अन्दाजी २०० मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।

सुरेन्द्रको शव गाडीको स्ट्रेरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ बर्षीय अजित यादव भने हामफालेर बाचेको जनाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।