मकवानपुरगढीमा रोपार्ईं महोत्सव
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १९ औं राष्ट्रिय धान दिवस तथा रोपार्ईं महोत्सव मनाइएको छ । बुधबार असार १५ मा मनाइने धान दिवसको अवसर पारेर वडा नम्वर २ मा रहेको कुर्लेफाँटमा धान रोपार्ईं महोत्सव मनाइएको हो ।
धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ वंशगोपाल मावि (प्राविधिक शिक्षालय)को आयोजना तथा गाउँपालिकाको सहकार्यमा महोत्सवको आयोजना गरिएको विद्यालयका अध्यक्ष रामप्रसाद पुडासैनीले जानकारी दिए ।
विद्यालय अध्यक्ष पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले कृषिमा आत्मनिर्भर रहन पालिकाले आवश्यक नीति कार्यक्रमका साथै बजेट ल्याएको बताए । उनले कृषि र पशुपालन क्षेत्रमा व्यवसायिकीकरण गरी आत्मनिर्भर रहनका लागि युवा लक्षित कार्यक्रमहरु पालिकामा रहेको बताए । तीनै तहका सरकारको सहकार्यमा कृषिक्षेत्रमा आधुनिकिकरण र व्यवसायीकरण गरिने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, कार्यपालिका सदस्य रामप्रसाद चौरेल, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, विद्यालयका प्रअ सन्देश मगरलगायत कृषकहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाले हरेक वर्ष असार १५ धान दिवस विभिन्न संस्थाहरुको सहकार्यमा रोपाइ महोत्सव मनाउदैं आइरहेको छ ।
