बामदेवको पार्टीमा ७ उपाध्यक्ष !

तु खबर संवाददाता
२०७९ असार १४, मंगलवार १६:२९

काठमाडौँ । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा ७ जना उपाध्यक्ष रहने जनाइएको छ । गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् ।

घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्ने गरी ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् । यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने जनाइएको छ । गौतमका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गरेका हुन् ।