दुई साताभित्र नयाँ सरकार बन्छ एमाले नेता राई
काठमाडौँ, १० पुस । नेकपा एमालेका नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताएका हुन्
“राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको छ, राजनीतिक सहमतिमा अध्यादेश टुङ्गो लगाउनुपर्छ”, उनले भने राष्ट्रियसभा गठन अध्यादेशबारे पार्टीभित्र भएको सहमति काँग्रेसले तोडेको उनको भनाइ थियो ।
नेता राईले मुलुकलाई स्थिर, सुशासन र शान्तिको बाटोमा लैजान जनताले वाम गठबन्धनलाई बहुमत दिएको भन्दै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पारे ।
पूर्वमन्त्री राईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे छलफल अगाडि बढिसकेको भन्दै पार्टी नेतृत्व कसले गर्ने भन्नेबारे समझदारीमा निर्धारण हुने स्पष्ट पारे ।
प्रदेश नं १ को मुख्यमन्त्रीका रुपमा समेत हेरिनुभएका नेता राईले उक्त प्रदेशमा भएका प्राकृतिक सम्पदाको प्रयोग गरेर नमूना प्रदेश बनाउने बताए । “प्रदेश नं १ को विकासका लागि मैले गुरुयोजनासमेत बनाइसकेको छु”, उनले भने ।
